संक्षिप्त इतिहास
राजधानीबाट करिब १० किलोमिटर उत्तर–पश्चिममा रहेको तामाङ बस्तीको बीचमा अवस्थित पञ्चकन्या माध्यमिक विद्यालय बुढानीलकण्ठ नगरपालिका वडा नं. ५, साङ्गेला–छाप, टुसालमा रहेको छ। विद्यालय शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जभित्र पर्दछ र यसको नाम पञ्चकन्या देवीको नामबाट राखिएको हो।
काठमाडौं जिल्लाको बुढानीलकण्ठ टुसाल गाउँका तामाङ गुठीका लामा प्रमुख, शिक्षाप्रेमी तथा समाजसेवी स्वर्गीय कान्छा लामा तामाङले बि.सं. २०२१ साल अगावै यस क्षेत्रका साङ्गेला–छाप, टुसाल, डाँडागाउँ, चसिनेनी, ठुलो गाउँ लगायतका स्थानमा तामाङ समुदायका घरघरमा बौद्ध परम्पराअनुसारका लामा संस्कार कार्य गर्दै आउनुभएको थियो।
उहाँले आफैंजस्तै लामा संस्कार गर्ने चेला उत्पादन गर्ने उद्देश्यले टुसालस्थित आफ्नै घर–गोठमा युवाहरूलाई भेला गरी बौद्ध ग्रन्थका लामा अक्षरहरूको पढाइ–लेखाइ सुरु गर्नुभयो। यही कार्यबाट विद्यालयको आधार तयार भएको मानिन्छ। समयसँगै बौद्ध ग्रन्थसँगै नेपाली र अङ्ग्रेजी शिक्षाको आवश्यकता महसुस भएपछि साथीहरूको सल्लाह तथा चन्द्रबहादुर लामाको सहयोगमा अशिक्षित तामाङ समुदाय र अन्य जातजातिका बालबालिका, युवा तथा प्रौढहरूलाई शिक्षित बनाउने उद्देश्यले पढाइ सुरु गरिएको थियो।
त्यस समयमा कान्छा लामाले बौद्ध ग्रन्थ पढाउने, कृष्णबहादुर तामाङले नेपाली विषय, मीनबहादुर ठकुरीले अङ्ग्रेजी तथा नेपाली विषय र चन्द्रबहादुर लामाले गणित विषय अध्यापन गर्नुभएको थियो। यसरी विद्यालय शिक्षाको औपचारिक सुरुवात भएको पाइन्छ।
बि.सं. २०२१ सालमा विद्यालय स्थापना गर्ने सहमति भए पनि पछि जिल्ला शिक्षा कार्यालय काठमाडौंले बि.सं. २०३७ साल माघ २९ गते “पञ्चकन्या विद्यालय” नामबाट दर्ता गरेको थियो। पछि विभिन्न उतारचढावका बीच विद्यालयले आफ्नै भवन निर्माण गरी शैक्षिक गतिविधि विस्तार गर्दै लग्यो।
प्राथमिक तहबाट सुरु भएको विद्यालयले बिस्तारै निचलो माध्यमिक र त्यसपछि माध्यमिक तहसम्मको अध्ययन अध्यापन सञ्चालन गर्न सफल भयो। बि.सं. २०६८ सालको एस.एल.सी. परीक्षामा विद्यालयले ८६.५ प्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको थियो। त्यसपछि विद्यालयले निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ। गत शैक्षिक सत्र २०८१ को एस.ई.ई. परीक्षामा विद्यालयले १०० प्रतिशत नतिजा ल्याई बुढानीलकण्ठ नगरपालिकाका ११ वटा सामुदायिक विद्यालयमध्ये चौथो स्थान हासिल गर्न सफल भएको छ।
हाल विद्यालयमा कक्षा शिशुदेखि कक्षा १० सम्म करिब २०० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले नि:शुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्ति, स्मार्ट कक्षा, ICT Lab, Science Lab, पुस्तकालय, योग तथा ध्यान, अतिरिक्त कक्षा, खेलकुद, नृत्य तथा संगीत, स्काउट तथा बालमैत्री सिकाइ वातावरण जस्ता सुविधा प्रदान गर्दै आएको छ।
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
SEE – २०८१ मा १००% विद्यार्थी उतीर्ण भए बापत बूढानीलकण्ठ नगरपालिका बाट रू १ लाख नगद प्राप्त
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
हाजीरी जवाफ कार्यक्रम
वक्तृत्व कला
वादविवाद
हस्त लेखन
English Speech Competition
चित्रकला र हस्तकला
योग तथा ध्यान कक्षा
मनोपरामर्श र वृत्तिमार्ग निर्देशन (CG)
भ्रमण र अवलोकन
खेलकुद, नृत्य तथा संगीत
सघन शिक्षण
अतिरिक्त कक्षा
स्काउट
School To Work Transition Programme
निबन्ध तथा कविता लेखन
अन्ताक्षरी तथा हिज्जे (Spelling Bee)
सरसफाइ तथा हरित कार्यक्रम
बिधार्थी क्लबहरू
१) पञ्चकन्या बाल क्लब
२) पञ्चकन्या ईको क्लब
३) Climate Smart Club of Panchakanya