मिति २०७१ मंसिर १६ गते बुढानीलकण्ठ नगरपालिकाको विधिवत रुपमा स्थापना भए पश्चात् यसको महत्वपूर्ण महाशाखाको रुपमा शिक्षा, यूवा तथा खेलकुद महाशाखाको स्थापना भएको थियो । यस महाशाखाले नगर क्षेत्रको शिक्षा यूवा तथा खेलकुद क्षेत्रको सुधार, विकास र उन्नयनका लागि कार्यकारी भूमिका निर्बाह गर्दछ । यस महाशाखाबाट सम्पादन गरिने शिक्षा सम्बन्धी प्रमुख कार्यहरु निम्न रहेका छन् :

(क) नगर शिक्षा समिति, सामाजिक विकास समिति र नगर कार्यपालिकाबाट स्वीकृत शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने गराउने,

(ख) शिक्षा सम्बन्धी नगरस्तरीय योजना वनाई नगर शिक्षा समिति, सामाजिक विकास समिति र नगर कार्यपालिकाबाट स्वीकृतीको लागि पेश गर्ने र स्वीकृत योजना कार्यान्वयन गर्ने,

(ग) स्थानीय तहको शिक्षाको अवस्था र प्रगति समेटिएको शिक्षा सम्वन्धी शैक्षिक स्थितिपत्र तयार गरी प्रत्येक वर्षको चैत्र मसान्त भित्र प्रकाशित गर्ने,

(घ) स्वीकृत अनौपचारिक शिक्षा, विशेष आवश्यकता भएका व्यक्तिका लागि, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा, रमाइलो शुक्रबार र विद्यालय दिवा खाजा कार्यक्रम कार्यान्वयन गर्ने गराउने,

(ङ) स्वीकृत कार्य योजना अनुसार विद्यालय सञ्चालन भए नभएको र प्रधानाध्यापक कार्यसम्पादन करार बमोजिम कार्य सम्पादन प्रगति हासिल भए नभएको सम्बन्धमा नियमित रूपले निरीक्षण र सुपरीवेक्षण गरी त्यसको प्रतिवेदन तयार गर्ने,

(च) आधारभूत तहको अन्त्यमा लिइने परीक्षा सञ्चालन गर्न परीक्षा संचालन समितिको सदस्य सचिव भइ कार्य गर्ने,

(छ) विद्यालयको कक्षा ८ अर्थात आधारभुत तहको अन्तिम परीक्षाको नतिजाको अभिलेख, प्रश्नपत्र र परीक्षाको विश्लेषण, विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि भए नभएको सम्बन्धमा मूल्याङ्कन गरी अभिलेख राख्ने तथा सो सम्बन्धमा सुधारका लागि आवश्यक काम गर्ने,

(ज) नगरपालिका भित्र रहेका कम्पनी ऐन अन्तर्गत दर्ता भएका वा शैक्षिक गुठी अन्तर्गत दर्ता भएका निजी लगानीका विद्यालयहरुको शैक्षिक कार्य योजनाको कार्यान्वयनको अनुगमन मूल्यांकन गरी समन्वय र अनुगमन गरी शैक्षिक सुधारका लागि सुझाव प्रस्तुत गर्ने ।

(झ) यस ऐन बमोजिम विद्यालयहरू सञ्चालन भए नभएको जाँचबुझ गर्ने तथा विद्यालयमा शिक्षाको गुणस्तर बढाउन, सुधार गर्न वा विद्यालय बन्द गर्नु पर्ने नपर्ने सम्बन्धमा निरीक्षण गरी विद्यालयको स्तर बढाउनु, सुधार गर्नु वा विद्यालय बन्द गर्नु पर्ने भएमा तत् सम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाउने ,

(ञ) विद्यालयमा लागू गरिएको पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री सम्बन्धमा सुधार गर्नुपर्ने र निःशुल्क पाठ्यपुस्तकको वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा व्यवस्थापन समिति तथा शिक्षकको राय लिई सुझाव पठाउने तथा सो सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने ।