संक्षिप्त इतिहास

वि.सं. २०६९ सालभन्दा अघि बुढानीलकण्ठ नगरपालिकाभित्र उच्च शिक्षाका लागि कुनै सार्वजनिक शैक्षिक संस्था उपलब्ध थिएन। फलस्वरूप, कक्षा १२ उत्तीर्ण गरेका धेरै विद्यार्थीहरूलाई थप अध्ययनका लागि निजी कलेजहरूमा निर्भर हुनुपर्ने अवस्था थियो, जसका कारण आर्थिक भार तथा पहुँचसम्बन्धी विभिन्न चुनौतीहरू सामना गर्नुपर्थ्यो।
यस आवश्यकतालाई महसुस गर्दै कपन क्षेत्रका स्थानीय बासिन्दा, शिक्षाविद्, प्राज्ञिक व्यक्तित्व तथा समाजसेवीहरूको सामूहिक पहलमा सामुदायिक शैक्षिक संस्थाका रूपमा कपन बहुमुखी क्याम्पस (Kapan Multiple Campus – KMC) स्थापना गरिएको हो। क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा प्रारम्भिक चरणमा शिक्षाशास्त्र स्नातक (B.Ed.) तथा व्यवस्थापन स्नातक (BBS) कार्यक्रम सञ्चालन गर्दै आफ्नो शैक्षिक यात्रा आरम्भ गरेको थियो।
वि.सं. २०८२ सालदेखि यस संस्थालाई औपचारिक रूपमा बागमती विश्वविद्यालयको आंगिक क्याम्पस “कपन क्याम्पस” का रूपमा पुनर्संरचना गरिएको छ। यो परिवर्तन संस्थागत विकासको महत्वपूर्ण उपलब्धि हो, जसले शैक्षिक सुशासनलाई सुदृढ बनाएको, गुणस्तर सुनिश्चितता प्रणालीलाई मजबुत पारेको तथा दीर्घकालीन संस्थागत दिगोपनाको आधार तयार गरेको छ।
हाल कपन क्याम्पसले बहुसांस्कृतिक, समावेशी तथा सहशिक्षात्मक वातावरण प्रदान गर्दै विद्यार्थीहरूलाई जिम्मेवार, सक्षम र सामाजिक उत्तरदायित्वप्रति सचेत नागरिकका रूपमा विकास गर्न प्रतिबद्ध रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्दै शैक्षिक उत्कृष्टताको परम्परालाई निरन्तरता दिन क्याम्पस समर्पित छ।
भावी कार्यदिशा (Way Forward)
शैक्षिक विस्तार
राष्ट्रिय आवश्यकता तथा परिवर्तनशील श्रम बजारको मागअनुसार प्राविधिक, व्यावसायिक तथा अन्तरविषयक कार्यक्रमहरू सञ्चालन गर्दै नवप्रवर्तन र रोजगारीमुखी शिक्षालाई प्राथमिकता दिइनेछ।
शैक्षिक सुशासन तथा गुणस्तर सुनिश्चितता
बागमती विश्वविद्यालयको नीति तथा मापदण्डअनुसार पाठ्यक्रम विकास, मूल्याङ्कन प्रणाली तथा शैक्षिक गुणस्तर सुधारका प्रक्रियाहरूलाई थप प्रभावकारी बनाइनेछ।
पूर्वाधार तथा शैक्षिक स्रोत विकास
शैक्षिक भवन, स्मार्ट कक्षाकोठा, सेमिनार हल, कम्प्युटर प्रयोगशाला, पुस्तकालय तथा विद्यार्थी आवासलगायतका भौतिक तथा शैक्षिक पूर्वाधारको निरन्तर विकास गरिनेछ।
प्राध्यापक क्षमता अभिवृद्धि
नियमित तालिम, अनुसन्धान, शैक्षिक योजना निर्माण तथा कार्यसम्पादन मूल्याङ्कनमार्फत प्राध्यापकहरूको क्षमता अभिवृद्धि गरिनेछ।
शिक्षण–सिकाइमा नवप्रवर्तन
सूचना तथा सञ्चार प्रविधिमा आधारित, विद्यार्थीकेन्द्रित तथा अनुसन्धानमुखी शिक्षण पद्धतिलाई प्रवर्द्धन गर्दै आधुनिक शिक्षण अभ्यासहरू लागू गरिनेछ।
सहकार्य तथा साझेदारी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग सहकार्य विस्तार गरी शैक्षिक आदान–प्रदान, अनुसन्धान तथा व्यावसायिक अवसरहरू वृद्धि गरिनेछ।
समुदाय तथा उद्योगसँगको सहकार्य
स्थानीय समुदाय, उद्योग तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै शैक्षिक कार्यक्रमहरूको सान्दर्भिकता र प्रभावकारिता अभिवृद्धि गरिनेछ।
विद्यार्थी सहयोग तथा करियर विकास
करियर परामर्श, इन्टर्नशिप, सीप विकास कार्यक्रम तथा रोजगारी सहजीकरण सेवामार्फत विद्यार्थीहरूको रोजगारी क्षमता अभिवृद्धि गरिनेछ।
विकास यात्रा
वि.सं. २०६९ सालअघि बुढानीलकण्ठ नगरपालिकाभित्र सार्वजनिक उच्च शिक्षाको पहुँच नहुँदा विद्यार्थीहरू निजी कलेजहरूमा निर्भर रहन बाध्य थिए। यस अवस्थाको समाधानका लागि कपन क्षेत्रका स्थानीय बासिन्दा, शिक्षाविद्, बुद्धिजीवी तथा समाजसेवीहरूको सक्रिय पहलमा कपन बहुमुखी क्याम्पस स्थापना गरिएको हो।
क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा B.Ed. तथा BBS कार्यक्रम सञ्चालन गर्दै आफ्नो शैक्षिक यात्रा सुरु गरेको थियो। जीवन सदस्यहरू तथा स्थानीय समुदायको आर्थिक तथा भौतिक सहयोगबाट आवश्यक स्रोतसाधन जुटाइएको थियो।
प्रारम्भिक चरणमा २५० भन्दा कम विद्यार्थीका साथ बालउद्धार माध्यमिक विद्यालयको परिसरबाट सञ्चालन भएको क्याम्पस वि.सं. २०७३ सालमा कपनस्थित शिवधारा चोकको भाडाको भवनमा स्थानान्तरण गरिएको थियो। क्याम्पस व्यवस्थापन समिति, बुढानीलकण्ठ नगरपालिका, बागमती प्रदेश सरकार तथा समुदायको निरन्तर सहयोगबाट हाल कपनस्थित ह्याण्डबल ग्राउण्ड नजिक आकाशधारामा आफ्नै स्थायी शैक्षिक भवन निर्माण गरी सञ्चालन भइरहेको छ।
वि.सं. २०८२ सालको पौष महिनादेखि क्याम्पस बागमती विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रूपान्तरण भएको छ। यसले संस्थागत विकास, शैक्षिक सुशासन, गुणस्तर अभिवृद्धि तथा शैक्षिक अवसर विस्तारमा नयाँ आयाम थपेको छ।
हाल कपन क्याम्पसले बागमती विश्वविद्यालयअन्तर्गत Bachelor of Information Technology (BIT), Bachelor of Business Administration (BBA) तथा Bachelor of Education (B.Ed.) कार्यक्रम सञ्चालन गरिरहेको छ।
स्थापनाकालदेखि नै कपन क्याम्पसले योग्य तथा अनुभवी प्राध्यापक, विद्यार्थीमैत्री सिकाइ वातावरण तथा शान्त शैक्षिक परिवेशमार्फत सर्वसुलभ, गुणस्तरीय र किफायती उच्च शिक्षा प्रदान गर्दै आएको छ।
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
- अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिहरू
- खेलकुद सुविधाहरू
- व्यावसायिक तालिम तथा कार्यशालाहरू
- इन्टर्नशिप (प्रशिक्षण) अवसरहरू
- करियर परामर्श तथा रोजगारी सहयोग सेवा
- सीपमूलक गैर–क्रेडिट पाठ्यक्रमहरू
- उद्योगसँगको सहकार्य तथा संस्थागत साझेदारीहरू