संक्षिप्त इतिहास
श्री मँहाकाल जनजागृत माध्यमिक विद्यालय वि.स. २०२८ सालमा स्थानीय शिक्षा प्रेमी, समाजसेवी, अभिभावक तथा बुद्धिजीवीहरूको सक्रिय पहल र सामूहिक प्रयासबाट स्थापना भएको एक प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हो । त्यस समयमा यस क्षेत्रका बालबालिकालाई सहज, सुलभ तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना गरिएको थियो । विद्यालय स्थापना पूर्व यस क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनका लागि टाढाका विद्यालयमा जानुपर्ने अवस्था रहेको थियो । विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने समस्या विद्यमान थियो ।
स्थानीय समुदायको सक्रिय सहयोग, जनश्रमदान तथा शैक्षिक चेतनाको परिणामस्वरूप विद्यालयको स्थापना सम्भव भएको हो । प्रारम्भिक चरणमा सीमित स्रोतसाधन, न्यून भौतिक पूर्वाधार तथा थोरै विद्यार्थी संख्याबाट विद्यालय सञ्चालन प्रारम्भ गरिएको थियो । समयक्रमसँगै विद्यालयले आफ्नो शैक्षिक तथा भौतिक विकासलाई विस्तार गर्दै आधारभूत तहबाट माध्यमिक तहसम्मको अध्ययन अध्यापन सञ्चालन गर्न सफल भएको छ ।
यस विद्यालयको सुरुवात प्राथमिक तहको शिक्षाबाट भएको थियो। पछि, विद्यालयलाई क्रमशः स्तरोन्नति गर्दै २०५० देखि २०५४ सालसम्म माध्यमिक तहसम्म पुर्याइयो। यस विद्यालयका विद्यार्थीहरूले २०५४ सालमा पहिलो पटक एस.एल.सी. परीक्षा दिएका थिए। विद्यालयको विकास यात्रा निरन्तर अघि बढ्दै गयो। २०६६ सालदेखि यसले व्यवस्थापन (Management), शिक्षा (Education), र मानविकी (Humanities) समूहमा कक्षा ११ र १२ सञ्चालन गर्न सुरु गर्यो। यो विद्यालय बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ को एक मात्र सामुदायिक विद्यालय हो । यस विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै यहाँका संस्थागत विद्यालयहरू भन्दा आफूलाई अब्बल सावित गर्दै आइरहेको छ।
विद्यालयले स्थापनाकालदेखि नै अनुशासन, नैतिक शिक्षा, गुणस्तरीय शिक्षण सिकाइ तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको छ । विद्यालयबाट अध्ययन सम्पन्न गरेका धेरै विद्यार्थीहरू विभिन्न पेशा, व्यवसाय तथा राष्ट्रिय सेवाका क्षेत्रमा सफल र जिम्मेवार नागरिकका रूपमा स्थापित भएका छन्, जसले विद्यालयको गौरवलाई अझ उच्च बनाएको छ ।
विद्यालयले बदलिँदो शैक्षिक आवश्यकता र समयको मागअनुसार शिक्षण विधि, अतिरिक्त क्रियाकलाप, सूचना प्रविधिको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा निरन्तर सुधार गर्दै आएको छ । हाल विद्यालयले समुदायको विश्वास प्राप्त गर्दै गुणस्तरीय, समावेशी तथा बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आफ्नो शैक्षिक यात्रालाई निरन्तर अघि बढाइरहेको छ ।
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
रमाइलो शुक्रबार अन्तरगत देहाय बमोजिमका अतिरिक्त क्रियाकलाप सञ्चालन हुन्छन्ः
(क) चित्रकला र हस्तकला प्रतियोगिता,
(ख) बाद्यबादन प्रतियोगिता
(ग) नृत्य प्रतियोगिता
(घ) नाटक प्रतियोगिता
(ङ) वक्तृत्व कला प्रतियोगिता
(च) हाजिरी जवाफ प्रतियोगिता
(छ) हिज्जे प्रतियोगिता
(ज) खेलकूद प्रतियोगिता
झ) साहित्यिक गतिविधि, कविता र निवन्ध प्रतियोगिता
(ञ) फूलबारी प्रतियोगिता
(ट) अन्य प्रतियोगिता
बिधार्थी क्लबहरू
विद्यालयमा गठन गरिएका क्लबहरू
१. बालक्लब
२. जुनियर रेडक्रस सर्कल
३. नेपाल स्काउट
४. भित्ते पत्रिका समिति