संक्षिप्त इतिहास
श्री गणेश माध्यमिक विद्यालय बूढानीलकण्ठ नगरपालिका वडा नं. २, गणेश चोक, काठमाडौंमा अवस्थित एक प्रतिष्ठित सामुदायिक विद्यालय हो । यस विद्यालयको स्थापना वि.सं. २०१८ साल फागुन महिनामा स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी तथा समाजसेवीहरूको सक्रिय पहलमा गरिएको हो । समाजको समृद्धि र विकासका लागि शिक्षाको अपरिहार्यता महसुस गर्दै स्थानीयवासीहरूले विद्यालय स्थापना गर्ने अभियान सुरु गरेका थिए ।
विद्यालय स्थापना गर्ने क्रममा शिक्षाप्रेमी श्री चन्द्र बहादुर खड्का, स्व. शिव बहादुर थापा, स्व. केदार प्रसाद लामिछाने तथा स्व. तुलसी नारायण श्रेष्ठज्यूहरूको विशेष योगदान रहेको पाइन्छ । उहाँहरूले अङ्ग्रेजी शिक्षामा दक्ष गोपाल प्रसाद भण्डारीलाई बोलाई गणेश मन्दिरको चौतारीमा १४–१५ जना बालबालिकालाई जम्मा गरी पठनपाठन सुरु गर्नुभएको थियो । यही प्रारम्भिक प्रयासबाट आजको श्री गणेश माध्यमिक विद्यालयको स्थापना भएको इतिहास पाइन्छ ।
प्रारम्भिक चरणमा विद्यालयको पठनपाठन गणेश मन्दिरको चौतारी, चपली गाउँको रथ राख्ने पाटी तथा स्थानीय पसलको दलानमा सञ्चालन गरिएको थियो । वर्षायाम, घामपानी तथा स्थान अभावका कारण अध्ययन–अध्यापनमा समस्या भएपछि वि.सं. २०२० सालमा संस्थापक सदस्य स्व. शिव बहादुर थापाले विद्यालयका लागि करिब आधा रोपनी जग्गा दान गर्नुभएको थियो । त्यसपछि उक्त जग्गामा टहरो निर्माण गरी प्राथमिक विद्यालय सञ्चालन गरिएको थियो ।
वि.सं. २०२४ सालमा आएको आँधीबेहरीले विद्यालयको टहरो उडाएपछि विद्यालय भवन निर्माणका लागि राज परिवारका सदस्य राजराजेश्वरी देवी शाह तथा कुशुम राज्यलक्ष्मी देवी शाहबाट रु. २०,००० सहयोग प्राप्त भएको थियो । उक्त रकमबाट तीन कोठे पक्की भवन निर्माण गरी विद्यालयको शैक्षिक गतिविधिलाई निरन्तरता दिइएको थियो ।
वि.सं. २०२९ सालमा निम्न माध्यमिक तहको स्वीकृति प्राप्त गरी कक्षा ६ सञ्चालन गरिएको थियो भने २०३० सालमा कक्षा ७ सम्म विस्तार गरिएको थियो । त्यसपछि क्रमशः भवन विस्तार, शिक्षक दरबन्दी वृद्धि तथा शैक्षिक पूर्वाधार विकास हुँदै गयो । वि.सं. २०३७ सालमा माध्यमिक तह सञ्चालनको स्वीकृति प्राप्त भएपछि विद्यालयले माध्यमिक शिक्षा सञ्चालन सुरु गर्यो । वि.सं. २०४० सालमा यस विद्यालयबाट पहिलो पटक एस.एल.सी. परीक्षामा विद्यार्थी सहभागी भएका थिए ।
विद्यालयले शैक्षिक उत्कृष्टताको क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ । वि.सं. २०६० सालको एस.एल.सी. परीक्षामा रामु खड्काले देशभर उत्कृष्ट नतिजा हासिल गरेका थिए भने वि.सं. २०६७ सालमा पूजा गुरुङले गुरुङ समुदायबाट देशभर उत्कृष्ट नतिजा ल्याउन सफल भएकी थिइन् ।
वि.सं. २०६४ सालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन, मानविकी तथा शिक्षा संकायमा कक्षा ११ र १२ सञ्चालन सुरु गरिएको थियो । विद्यालयले समयसँगै आधुनिक शिक्षण पद्धति, प्रविधिमैत्री शिक्षा तथा गुणस्तरीय शैक्षिक वातावरणलाई प्राथमिकतामा राख्दै आफ्नो शैक्षिक स्तरलाई अझ सुदृढ बनाउँदै आएको छ ।
वि.सं. २०७२ सालको महाभूकम्प तथा सडक विस्तारका कारण विद्यालयका केही भवनमा क्षति पुगेपछि विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना अघि बढाइएको थियो । नगरपालिकाको सहयोगमा चिहानडाँडामा नयाँ भवन निर्माण गरियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा विभिन्न सहयोगी संस्थाको सहकार्यमा थप भवन निर्माण गरी विद्यालयको पूर्वाधारलाई व्यवस्थित बनाइएको छ । हाल विद्यालयमा आधुनिक तथा सुरक्षित भवनमा कक्षा सञ्चालन भइरहेको छ ।
विद्यालयमा हाल २७ जना शिक्षक, एक जना विद्यालय कर्मचारी, एक जना विद्यालय नर्स तथा एक जना कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयले विद्यार्थीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा नैतिक विकासलाई समान प्राथमिकतामा राखी शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. २, ३, ४, ६ र ८ सहित काठमाडौं महानगरपालिका तथा टोखा नगरपालिकाका विद्यार्थीहरू अध्ययन गर्न आउने यस विद्यालयले सामुदायिक विद्यालयको रूपमा उत्कृष्ट योगदान पुर्याउँदै आएको छ । विविध जातजाति, भाषा तथा संस्कृतिको समन्वय रहेको यस विद्यालयले सामाजिक सद्भाव, अनुशासन तथा गुणस्तरीय शिक्षालाई आफ्नो मूल उद्देश्यका रूपमा अघि बढाउँदै आएको छ ।
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
बिधार्थी क्लबहरू
१. बाल क्लब
२. इको क्लब
३. जुनियर रेडक्रस
४. स्काउट