संक्षिप्त इतिहास

बुढानीलकण्ठ आश्रम स्कूल काठमाडौंको उत्तर शिवपुरी पहाडको काखमा अवस्थित प्रसिद्ध बुढानीलकण्ठ नारायण भगवान मन्दिरको नजिकै प्राकृतिक तथा रमणीय वातावरणमा रहेको विद्यालय हो। यो विद्यालय वि.सं. २०४७ सालदेखि सञ्चालनमा आएको हो। विद्यालयको स्थापना ब्रह्मलीन गुरुदेव स्वामी चन्द्रेशको संरक्षण तथा मार्गदर्शनमा गरिएको थियो। स्थापना पूर्व शिवपुरीस्थित कुटीमा ध्यान, योग तथा ज्ञानसम्बन्धी साधना गरिन्थ्यो। विद्यालयले उहाँकै नीति निर्देशनलाई पछ्याउँदै आजसम्म निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

विद्यालयको परिचय

वि.सं. २०४० को दशकमा बुढानीलकण्ठ क्षेत्रमा अंग्रेजी माध्यममा अध्ययन–अध्यापन गराउने विद्यालयको अभाव थियो। त्यस समयमा रहेका केही विद्यालयहरू पनि निम्न तथा मध्यम वर्गीय परिवारका बालबालिकाहरूको पहुँचभन्दा बाहिर थिए। यही आवश्यकतालाई महसुस गर्दै स्थानीय आवश्यकता, गुरुदेवको शिक्षाप्रतिको प्रेम तथा समाजसेवाको भावनाबाट प्रेरित भएर यस विद्यालयको स्थापना गरिएको हो।

सरकारी पाठ्यक्रमअनुसार विद्यालय सञ्चालन गर्दै वैदिक सनातन संस्कृति, आदर्श तथा व्यवहारिक शिक्षालाई समेटिएको “त्रिनिति शिक्षा” को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको छ। विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा रहेको छ। यहाँ नर्सरीदेखि कक्षा १० सम्म अध्ययन–अध्यापन गराइन्छ। नेपाल सरकार शिक्षा मन्त्रालयले निर्धारण गरेका विषयहरूका अतिरिक्त श्रीमद्भगवद्गीता, संगीत, नृत्य, खेलकुद, कम्प्युटर, योग, साहित्य, कला, होम, यज्ञ तथा ध्यानयोगजस्ता विषयहरू पनि अध्यापन गराइन्छ।

त्रिनिति शिक्षा

स्वामीजीद्वारा प्रतिपादित त्रिनिति शिक्षाका आधारभूत नीतिहरू यस प्रकार छन्:

• पहिलो नीति : नैतिक तथा आध्यात्मिक शिक्षा
• दोस्रो नीति : सीपमूलक व्यवहारिक शिक्षा
• तेस्रो नीति : जानकारीमूलक शिक्षा

त्रिनिति शिक्षाले वर्तमान शिक्षा प्रणालीमा रहेका विभिन्न चुनौतीहरू समाधान गर्न सक्ने विद्यालयको विश्वास रहेको छ। यो शिक्षण पद्धति व्यवहारिक तथा वैज्ञानिक शिक्षा प्रणालीका रूपमा पनि परिचित छ।

अतिरिक्त क्रियाकलापहरू

विद्यालयमा योग, विज्ञान प्रविधि, संगीत, नृत्य, खेलकुद, साहित्य तथा कलासम्बन्धी अतिरिक्त कक्षाहरू सञ्चालन गरिन्छन्। यस्ता गतिविधिहरूमा विद्यार्थीहरूले आन्तरिक तथा अन्तरविद्यालय स्तरका प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

विद्यालयमा प्रत्येक वर्ष गुरुपूर्णिमा, कृष्णजन्माष्टमी, रामनवमीजस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरू विशेष रूपमा मनाइन्छ। साथै स्वामी चन्द्रेशजी महाराजको वार्षिक पुण्यतिथिमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ। उहाँद्वारा रचित ग्रन्थ, संगीत, बालगीत तथा चित्रकलासम्बन्धी कार्यक्रमहरू आयोजना गरी उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्ने परम्परा रहेको छ।

विद्यालयका विशेषताहरू

• सुन्दर, शान्त, सफा तथा मनोरम वातावरण
• पक्की तथा खुला विद्यालय भवन
• फराकिलो खेल मैदान
• शुद्ध पिउने पानीको व्यवस्था
• विद्यालय बस सुविधा
• प्राथमिक उपचारको व्यवस्था
• सफा तथा स्तरिय क्यान्टिन सुविधा
• पर्याप्त अध्ययन सामग्रीसहितको पुस्तकालय
• सफा तथा सुविधाजनक शौचालय
• विभिन्न फलफूलसहितको बगैंचा
• ध्यान, भजन तथा नृत्य हल
• विद्यालयको आफ्नै करेसाबारी
• नित्य पाठपूजाका लागि शिवालय मन्दिर तथा होम स्थल
• निःशुल्क भोजन तथा आवाससहितको गुरुकुल शिक्षा
• विज्ञान प्रयोगशाला

विद्यालयले प्राप्त गरेको सफलता

विद्यालयले SLC तथा SEE परीक्षामा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू देश तथा विदेशका विभिन्न क्षेत्रमा सफलतापूर्वक कार्यरत छन्। विद्यालयमा अध्ययनका क्रममा प्राप्त योग, ध्यान, गीता तथा संस्कारसम्बन्धी शिक्षाले जीवनका विभिन्न क्षेत्रमा आत्मबल प्रदान गरेको पूर्व विद्यार्थीहरूको अनुभव रहेको छ।

हालसम्म यस विद्यालयबाट ८५० भन्दा बढी विद्यार्थीहरूले SLC तथा SEE परीक्षा उत्तीर्ण गरिसकेका छन्। वि.सं. २०८२ सालको SEE परीक्षामा सहभागी २८ जना विद्यार्थीहरूमध्ये ६ जनाले A+, ११ जनाले B+ तथा ११ जनाले B ग्रेड प्राप्त गरी शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका छन्। विद्यालयका पूर्व विद्यार्थीहरू डाक्टर, इन्जिनियर, शिक्षक, सैनिक, कलाकार, संगीतकार, प्रशासनिक सेवाकर्मी तथा विभिन्न पेशामा आबद्ध भई राष्ट्रसेवामा योगदान पुर्‍याइरहेका छन्।

विद्यालयका आगामी योजनाहरू

विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा तथा उचित संस्कार प्रदान गरी देश र समाजका लागि जिम्मेवार नागरिक तयार गर्नु विद्यालयको मुख्य लक्ष्य रहेको छ। यही उद्देश्यअनुसार वि.सं. २०८२ सालदेखि कक्षा ६ बाट गुरुकुल पद्धतिको अध्ययन–अध्यापन पनि सुरु गरिएको छ। हाल गुरुकुल अन्तर्गत कक्षा ६ र ७ मा १३ जना विद्यार्थी अध्ययनरत छन्।

विद्यालयले आफ्नो लामो शैक्षिक अनुभव तथा शिक्षण प्रणालीलाई अझ विस्तार गर्दै अन्य विद्यालय तथा शैक्षिक संस्थाहरूसँग सहकार्य गरी संस्कारित तथा शिक्षित समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

कक्षा मासिक शुल्क वार्षिक शुल्क
Nursery रु. २८०० —
LKG रु. २९०० रु. ५८००
UKG रु. ३००० रु. ६०००
कक्षा १ रु. ३१०० रु. ६२००
कक्षा २ रु. ३२०० रु. ६४००
कक्षा ३ रु. ३३०० रु. ६६००
कक्षा ४ रु. ३४०० रु. ६८००
कक्षा ५ रु. ३५०० रु. ७०००
कक्षा ६ रु. ३८०० रु. ७६००
कक्षा ७ रु. ३९०० रु. ७८००
कक्षा ८ रु. ४३०० रु. ८६००
कक्षा ९ रु. ४५०० रु. ९०००
कक्षा १० रु. ४८०० रु. ९६००

सम्पर्क

budhanil kantha ashram school
बुढानीलकण्ठ आश्रम स्कूल
सम्पर्क नम्बर: ०१-४३७०२०२, ९८५१०२२३५९, ९८५११९५२९२
स्थापना वर्ष: २०४७
विद्यालय तह: गुठी विद्यालयहरु
EMIS Code: २७००८००१८
प्रधानाध्यापकको नाम: गुञ्जन लम्साल
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८५१०२२३५९
ashramschool1989@gmail.com
९८५१०२२३५९
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: बिमल अर्याल
सम्पर्क नम्बर: ९८४१२८३५१६
सदस्य संख्या: ७