संक्षिप्त इतिहास
श्री बाल विकास समाज आधारभूत विद्यालयको स्थापना वि.सं. २०४८ साल फागुन ७ गते भएको हो । स्थापना कालदेखि नै यस विद्यालयले स्थानीय बालबालिकालाई शिक्षा प्रदान गर्दै समुदायमा शैक्षिक चेतना फैलाउने महत्वपूर्ण कार्य गर्दै आएको छ । हाल विद्यालयमा करिब ७० जना विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।
विद्यालय स्थापना हुनु अघि यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षा प्राप्त गर्न दैनिक करिब १० किलोमिटर पैदल यात्रा गरी जंगलको बाटो हुँदै बुढानीलकण्ठसम्म पुग्नुपर्ने बाध्यता थियो । कठिन भौगोलिक अवस्था तथा पहुँचको अभावका कारण धेरै बालबालिकाहरू शिक्षाको अवसरबाट वञ्चित हुने अवस्था रहेको थियो ।
स्थानीय शिक्षाप्रेमी तथा समाजसेवीहरूको पहलमा विद्यालय स्थापना गर्ने अभियान सुरु गरिएको थियो । संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर लामाको घरको आँगनमा तत्कालीन शाही नेपाली सेनाले सहयोगस्वरूप उपलब्ध गराएको जम्बो त्रिपालको सहायताबाट विद्यालय सञ्चालन सुरु गरिएको थियो । सीमित स्रोत–साधनका बाबजुद स्थानीय समुदायको सहयोग, अभिभावकको विश्वास तथा शिक्षकहरूको समर्पणले विद्यालयलाई क्रमशः विकासको मार्गमा अघि बढाएको हो ।
समयक्रमसँगै विद्यालयले आफ्नै नाममा एक रोपनी जग्गा प्राप्त गर्न सफल भयो । हाल उक्त जग्गामा दुई वटा पक्की भवन निर्माण गरी व्यवस्थित रूपमा अध्ययन अध्यापन सञ्चालन भइरहेको छ । विद्यालयको भौतिक तथा शैक्षिक विकाससँगै समुदायमा शिक्षाप्रतिको चेतना पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
विद्यालय स्थापना भएपछि विद्यालय जाने उमेर समूहका बालबालिकाहरू विद्यालय बाहिर रहने अवस्था लगभग शून्य भएको छ । आज समुदायका अधिकांश घरपरिवारमा विद्यालय तहको शिक्षा प्राप्त गर्ने वातावरण निर्माण भएको छ । विद्यालयले स्थानीय समुदायमा साक्षरता, सामाजिक चेतना तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापहरूलाई पनि विशेष प्राथमिकता दिँदै आएको छ । हाजिरीजवाफ, हिज्जे प्रतियोगिता, चित्रकला, क्षेत्र भ्रमण, खेलकुद सप्ताह, खाना महोत्सव, लोकनृत्य प्रतियोगिता, पौडी तथा विभिन्न चाडपर्वसम्बन्धी कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुर्याएका छन् । साथै, सरसफाइ तथा सामाजिक गतिविधिहरूमार्फत विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारी तथा सामाजिक चेतनाको विकास गराइएको छ ।
विद्यालयले खेलकुद क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ । बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित प्रथम नगरस्तरीय प्राथमिक तह फिफा कप प्रतियोगिता–२०८२ मा विद्यालयले पहिलो पटक सहभागिता जनाउँदै छात्र फुटसलतर्फ तृतीय सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
विद्यालयमा “बाल विकास समाज बाल क्लब” सञ्चालनमा रहेको छ, जसले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहकार्य भावना तथा सामाजिक उत्तरदायित्वको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
आज श्री बाल विकास समाज आधारभूत विद्यालय स्थानीय समुदायको विश्वास जित्न सफल सामुदायिक विद्यालयका रूपमा स्थापित भएको छ । विद्यालयले भविष्यमा पनि गुणस्तरीय शिक्षा, अनुशासन तथा बालमैत्री वातावरणमार्फत सक्षम, जिम्मेवार तथा शिक्षित नागरिक निर्माण गर्ने लक्ष्यका साथ आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिइरहेको छ ।
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित प्रथम नगरस्तरीय प्राथमिक तह फिफा कप प्रतियोगिता–२०८२ मा प्रथम सहभागितामै छात्र फुटसलतर्फ तृतीय सान्त्वना पुरस्कार प्राप्त ।
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
१. हाजिरीजवाफ
२. हिज्जे प्रतियोगिता
३. चित्रकला
४. क्षेत्र भ्रमण
५. खेलकुद सप्ताह
६. खाना महोत्सव
७. लोकनृत्य प्रतियोगिता
८. पौडी
९. विभिन्न चाडपर्वअनुसारका कार्यक्रम
१०. वातावरण तथा सरसफाइ कार्यक्रम
बिधार्थी क्लबहरू
बाल विकास समाज बाल क्लब
विद्यार्थी विवरण कक्षागत
शिशु – १३
कक्षा १ – ७
कक्षा २ – १५
कक्षा ३ – ६
कक्षा ४ – ६
कक्षा ५ – ७
कक्षा ६ – ६
कक्षा ७ – १०
कक्षा ८ – ७